पोखरा: जिल्ला प्रहरी कास्कीले स्वरुप परिवर्तन गरि ध्वनि प्रदूषण नगराउन सचेतनामुलक ‘स्टिकर’ टाँस अभियान सुरु गरेको छ ।
शुक्रबार कास्की प्रहरीले पोखरा महानगरपालिका ९ नयाँबजारमा साधनको स्वरुप परिवर्तन गर्ने वर्कसप संचालक तथा व्यवसायीलाई कारवाही गर्ने सम्बन्धी सचेतनामूलक स्टिकर टाँस अभियान सुरु गरेको हो ।
यसअघि कास्की प्रहरीले मोडिफाई गरी ध्वनि प्रदूषण गर्नेविरुद्ध कारबाही समेत गरेको थियो । पहिलो चरणमा स्वरुप परिवर्तन गरिएको साधनको मोडिफाई पार्टपुर्जा फेर्न लगाई छाडिएको थियो । दोस्रो पटक यातायात व्यवस्था कार्यालयमा पठाइ कारबाही गरिएको थियो ।
तर, अझै मोडिफाई मोटरसाइकल भेटिएकालेसचेतनामुकल स्टिकर टाँस अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
स्वरुप परिवर्तन गरि सार्वजनिक शान्तिमा खलल पुर्याएमा सर्वसाधरणलाई दुःख र हैरानी दिएको कसूरमा कारबाही अघि बढाइने एसपी मोहन थापाले बताए ।
पोखरामा रात्रीकालीन व्यवसाय २४ घण्टा खुल्ला रहेको अवस्थामा समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न वर्कसप संचालकको समेत महत्वपूर्ण भुमिका रहने उल्लेख गरे ।
उनले अनधिकृत रुपमा स्वरुप परिवर्तन गराउन खोज्ने व्यक्तिहरुको सम्बन्धमा प्रहरीलाई खवर गरी कानून कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेका थिए ।



