९ जेठ , काठमाडौ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै इसारामा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सञ्चारमाध्यमहरूले प्रेस ऐक्यबद्धता जनाएका छन्  ।

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध प्रेस ऐक्यबद्धता

मिडिया अलायन्स नेपाल र मिडिया सोसाइटीमा आबद्ध दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै ‘तथ्य डग्दैन, कलम झुक्दैन’ भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् । विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरूले बुधबार प्रेस ऐक्यबद्धता जनाएका हुन् ।

त्यस्तै दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै अध्यक्ष सिरोहिया पक्राउ घटनालाई प्रमुखताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, आर्थिक अभियान दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिकलगायतका पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाउने सामग्री छापिएका छन् ।

अन्नपूर्ण पोस्टले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै बुधबारको ‘कभर स्टोरी’ बनाएको छ । अन्नपूर्णले पहिलो पृष्ठमा ‘प्रतिशोधपूर्ण पक्राउ : सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निरन्तर लेखिरहेको कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै गिरफ्तार’ शीर्षकमा आजको ‘कभर स्टोरी’ लेखेको छ ।

हिमालय टाइम्स दैनिकले पहिलो पृष्ठमा ‘कान्तिपुरमा अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ : लोकतन्त्र अधिनायकवादमा परिणत भएको प्रतिक्रिया’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै हिमालय टाइम्सले पृष्ठ ६ मा ‘प्रेसविरोधी सरकारविरुद्ध’ शीर्षकमा विशेष सम्पादकीय भन्दै कालो पोतेको छ ।

त्यस्तै नागरिक दैनिकले पहिलो पृष्ठमा ‘कैलाश सिरोहिया पक्राउ, कारक सहकारी समाचार : सिरोहिया प्रधानमन्त्रीकै ‘ग्रिन सिग्नल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । साथै उसले दलहरूले यसलाई प्रतिशोधपूर्ण घटनाका रूपमा लिएको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

त्यस्तै राजधानी दैनिकले ‘सिरोहिया कार्यकक्षबाटै पक्राउ : मिडियाविरुद्ध प्रतिशोधात्मक कारबाही’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । राजधानी दैनिकले बुधबार संसद्‍मा प्रतिपक्षी दललाई पेलेरै विश्वासको मत लिएको सन्दर्भमा अग्रपृष्ठमै वरिष्ठ पत्रकार किशोर नेपालको ‘प्रधानमन्त्री प्रचण्डको खस्किँदो मुहार’ शीर्षकमा विचार छापेको छ ।

त्यस्तै नेपाल समाचारपत्र दैनिकले ‘सिरोहिया पक्राउको चौतर्फी विरोध : प्रेस स्वतन्त्रतामाथि धावा !’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । समाचारपत्रले पहिलो पृष्ठमै ‘स्वतन्त्र प्रेस र लोकतन्त्रको धज्जी : मिडिया एलाइन्स’ शीर्षकमा अर्को समाचार पनि छापेको छ ।

त्यस्तै मध्याह्न राष्ट्रिय दैनिकले पनि ‘कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ’ शीर्षकमा प्रमुखताका साथ पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले ‘कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाले अध्यक्ष सिरोहियाको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘म छानबिनलाई सघाउँछु । म यो देशको नागरिक हुँ । मविरुद्धको पक्राउ नागरिकताका कारण होइन, सहकारी ठगीसम्बन्धी समाचार लेखेका कारण हो । यो प्रेस स्वतन्त्रताविरुद्धको प्रहार हो ।’

त्यस्तै विभिन्न अनलाइन सञ्चारमाध्यमहरूले पनि अध्यक्ष सिरोहिया पक्राउविरुद्ध टिप्पणी लेखेका छन् । अनलाइनखबरले ‘गृहमन्त्रीको प्रतिशोध र बदनियत मिसिएको एउटा गिरफ्तारी’ शीर्षकमा समाचार टिप्पणी लेखेको छ ।

त्यस्तै देशसञ्चार डट कममा प्रधान सम्पादक युवराज घिमिरेले शून्य समयमा ‘प्रतिशोधको आगोमा जल्दै प्रचण्ड सरकार’ भनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।