काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा निमित्त प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।
निमित्त प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्दशन दिनुभयो । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।
निमित्त प्रहरी महानिरीक्षक थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जोकोहीलाई कानूनको दायरामा ल्याउन कानून सम्मत कडा रूपमा प्रस्तुत हुनुपर्ने र सीमा नाकामा थप कडाईका साथ निगरानी तथा गस्ती बढाउनुपर्ने बताउनुभयो । उहाँले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिको लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो ।
प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी संगठनको कार्यसम्पादन स्तर बढाउन प्रहरीको आचरण व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक उर्जाका साथ लागी पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।