९ भाद्र ,काठमाडौ । काठमाडौँको गौशालाबाट प्रहरीले नेपाली नक्कली रुपैयाँ र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाफोकथुङ–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सुर्योदय नगरपालिका घर भएका ४७ वर्षका बोधचन्द्र नामचुङ छन् ।
उनीहरुको साथबाट ५ सय र १ हजार दरको १ लाख ९५ हजार ५ सय नक्कली रुपैयाँ र ७ दशमलव ८१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बस्ने एराजुल हकलाई पक्राउ गर्दा उनको साथबाट नक्कली नोट फेला परेको थियो । उनको डेरा चेकजाँच गर्दा थप दुईजना लागु औषधसहित पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।





