Comments Add Comment

गोर्खा मिडियाको आर्थिक कारोबारमा रवि नै संलग्न , ससुराकै कम्पनीलाई ८१ लाख पेस्की

 ४ असोज , काठमाडौ ।  सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले संसद सचिवालयमा पेस गरेको प्रतिवेदन संसद सचिवालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

समितिले लामिछानेसँग ७ भदौमा करिब १० घण्टा बयान लिएको थियो । बयानमा लामिछानेले गोर्खा मिडियाको आर्थिक कारोबार आफुले नहेर्ने बताएका थिए ।

गोर्खा मिडियाका तात्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले संसदीय समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष जीबी राई नै जिम्मेवार रहेको बयान दिए पनि उनी आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ।

समितिले लामिछानेको नाममा १७ लाख १६८ रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी रहेको देखाएको छ । लामिछानेले गोरखा मिडिया नेटवर्कसँग आफ्नो कुनै दायित्व नरहेको दाबी गर्दै आएका थिए ।

समितिले प्रतिवेदन लामिछानेको हस्ताक्षरमा गोर्खा मिडियाबाट काटिएको चेकहरू सार्वजनिक गरेको छ ।

लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको छ ।

समितिको प्रतिवेदनअनुसार लामिछानेले एउटै चेक तीन करोड रुपैयाँसम्मको काटेको पाइएको छ ।

जहाँ, नोबडी प्रोडकसनको ५ वटा, कला बिल्डिङ एण्ड कन्ट्रक्सनमा १ पटक, कम्युनिकेशन एण्ड ब्रोडकास्ट प्रालिमा ९ पटक, राष्मिता देवी गुरागाईँको नाममा एउटा र शम्भु गुरागाईंको नाममा एउटा चेकमा लामिछानेले हस्ताक्षर गरेको समितिको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार गोर्खा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ ।

उद्धव पौडेल रवि लामिछानेकी श्रीमती निकिता पौडेलको बुवा हुन् । यस्तै गोर्खा मिडिया नेटवर्कबाट रास्वपा सहमहामन्त्री विपिन आचार्यको नोवोडी प्रोडक्सनमा ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ पेस्की गएको प्रतिवेदनमा उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न सहकारीबाट प्रवाह भएको ६५ करोड रकम खर्च गर्ने काममा लामिछानेको संलग्नता रहेको समितिले निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment