काठमाडौं : काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि खतिवडा असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरले असोज महिनाका लागि खतिवडालाई ‘पुलिस अफ दी मन्थ’ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले बताए ।
प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकाले डिएसपी हरि खतिवडालाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” ( POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसर तथा मातहत भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।





