काठमाडौँ । नेपाल प्रहरीले सप्तरीको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले विशेष सूचनाका आधारमा बालुवा बोक्ने टिपरमा बालुवा र गिट्टीले छोपेर राखेको अवस्थामा १७ क्विन्टल ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई रहेका छन् ।
एसपी खतिवडाका अनुसार उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालक राईलाई प्रहरीले पक्राउ गरेको थियो।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।



