काठमाडौँ: मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् । प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमार रहेका छन् ।

एसपी खड्काका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

टिस्टुङबाट हेटौँडा हुँदै भारततर्फ लागूऔषध ओसारपोसार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा सवारी साधनहरू जाँच गर्ने क्रममा डीएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा उनीहरुले कार भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध चरेस र अफिम फेला पारेको प्रहरी एसपी खड्काले जानकारी दिए ।

साथै मकवानपुर प्रहरीले १०१ किलो गाँजासहित एक जना पक्राउ

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध १०१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा रातोमाटे चेकपोष्टबाट सवारी साधन रोकी सुरक्षा जाँच गर्दा चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको भारतीय कारबाट १०१ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको एसपी खड्काले बताएका छन्। लागूऔषध गाँजासहित पर्साको वीरगन्ज महानगरपालिका – २६, अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरेको छ ।