काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले समग्र जिल्लावासीमा शान्ति सूरक्षाको प्रत्याभूती र अनुभूती गराउन चौबिसै घण्टा कुनै कसर बाँकी नराखी क्रियाशील रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार परिसर पुगेर पदभार ग्रहण गरी परिसरका सिनियर प्रहरी अधिकृत तथा मातहत वृत्त, प्रभागहरुका ईन्चार्जहरुसंग परिचयात्मक अन्तरक्रिया गरी एसएसपी अधिकारीले आवश्यक निर्देशन दिएका हुन् ।

एसएसपी अधिकारीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको बहुआयामिक कार्यक्षेत्रभित्र मूलभूत रुपमा अपराधको प्रभावकारी रोकथाम तथा अपराधको सफल अनुसन्धानको माध्यमबाट क्रियाशिल रहन निर्देशित गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षकको कार्यालय मात्र नभई समग्र जिल्लावासीको प्रहरी कार्यालय भएको हुनाले परिसर र मातहतको सम्पर्कमा आउने प्रत्येक व्यक्ति प्रहरीका सेवाग्राही भएको र उहांहरुको कानुनी अपेक्षाका लागि नै प्रहरी संगठन र प्रहरी कार्यालयहरुको आवश्यकता, माग, स्थापना र बिस्तार हुदै गईरहेको हुनाले हामीले “We Count Every Contact” को सिद्धान्तलाई अबलम्बन गर्ने र कानुनी आवश्यकतालाई तत्काल सम्बोधन गर्न संवेदनशील हुनु पर्नेमा जोड दिए ।

देशको राजधानी शहर भएकोले राजनैतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, वैदेशिक, पर्यटन लगायत समग्र दृष्टीकोणबाट जिल्लामा सुदृढ एवं उत्कृष्ट सुरक्षा प्रबन्ध गर्न आफु लगायत सम्पूर्ण प्रहरी अधिकृतहरुले आगामी दिनहरुमा Lead by Example को मान्यता अनुरुप कमाण्डरका साथसाथै अभिभावकीय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहने बताए ।

नेपाल प्रहरीको कार्ययोजना, तालुक कार्यालयसंग भएको कार्य सम्पादन सम्झौता, विभागबाट भएका परिपत्रहरुको अक्षरश: कार्यान्वयन तथा पालना गर्दै निर्दिष्ट उद्देश्यहरु तोकिए बमोजिम भन्दा पनि उच्चतम् स्तरमा हासिल गर्ने तर्फ अग्रसर रहन पनि परिसर प्रमुखले निर्देशन दिए ।

संगठनको लक्ष्य प्राप्तीका लागि आगामि दिनहरुमा प्रत्येक क्रियाकलापको निश्चित सूचकहरु पहिचान, विकास तथा अबलम्बन गरी वैज्ञानिक, व्यवहारिक तथा प्रभावकारी आन्तरिक तथा बाह्य कार्य वातावरणको सृजना गरी कार्य सम्पादनका आधारमा मातहत कार्यालय तथा कर्मचारीहरुको मूल्याङ्कन गरिने भएकोले सकेसम्म बढी कर्मचारीहरु पुरस्कृत हुनेतर्फ उच्च मनोबलकासाथ जागरुक, कृयाशील, रचनात्मक, संवेदनशील भई लागि पर्न समेत परिसर प्रमुखले निर्देशन दिए ।