
काठमाडौँ: काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर आइतबार साँझ प्रहरीले २३ जनालाई पक्राउ गर्न सफल रहेका छन् ।
रातभरिको अपरेशन पछि उनीहरुलाई समातिएको एसएसपी अधिकारीले बताए । अपरेशन पछि फन्दामा परेका अधिकांश भारतिय नागरिक भएको खुलेको छ । उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको अधिकारीले जानकारी दिए ।
भारतीयले सञ्चालन गरेको अनलाइन अखडामा नेपाल प्रहरीले छापा मारेको यो पहिलोपटक हो । चिनियाँ नागरिकका यस्ता कार्यालयमा भने विगतमा प्रहरीले छापा मारेको थियो । प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनलाइनमार्फत ठगी गर्न चिनियाँले सञ्चालन गरेका कार्यालयमा छापा मार्दै आएको थियो ।
घर नै भाडामा लिएर अनलाइन जुवाधन्दा चलाईरहेका बारे अन्य जानकारीको लागि अनुसन्धान भैरहेको पनि एसएसपी अधिकारीले बताए । अनलाइन जुवा खेलाउने अभियोग लागेका भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित घरमा अनलाइन जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।