काठमाडौं, नेपाल पुलिस स्कुल साँगाको ४१ औं स्थापना दिवस तथा वार्षिक खेलकुद सप्ताह एक समारोहको बीच सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको हो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले नेपाल प्रहरी विद्यालयको संस्थापक स्व. अवकाशप्राप्त प्र.म.नि. डि.बि. लामाको तस्वीरमा माल्यार्पण गरी पानसमा रहेको दिप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

संघकी अध्यक्ष कुवँरले शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका बन्चित नहोस् भन्ने उद्देश्य राखेर प्रहरीका सन्ततीहरूको सर्वाङ्‌गीण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण कुरा उल्लेख गरिन्। वि.सं २०४० मा प्रहरी कर्मचारीहरूको सन्ततीलाई शिक्षामा सहुलियत पुर्‍याउने उद्देश्यले यो स्कुल स्थापना भएको हो। तत्कालिन प्रहरी महानिरीक्षक दिल बहादुर लामाको नेतृत्व र योगदानलाई पनि स्मरण गरियो। स्कुलले भविष्यमा सफलता हासिल गर्न समयानुकूल लक्ष्य र कार्यक्रम तय गर्दै प्रगतिको मार्गमा अगाडि बढ्ने आशा व्यक्त गरिन्। यसले प्रहरी परिवारका बालबालिकाहरूको उज्जवल भविष्य निर्माणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

उनले नेपाल प्रहरी विद्यालय, साँगाको ४१ औँ स्थापना दिवसका सन्दर्भमा आफूलाई आमन्त्रण गरी प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने सु-अवसर प्रदान गर्नु भएकोमा विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट समेत गरेका थिए ।

नेपाल प्रहरीको पहिलो विद्यालयको रुपमा स्थापित यस विद्यालयले समाजका महत्वपुर्ण क्षेत्रका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत यस विद्यालयबाट दिक्षित विद्यार्थीहरुले प्राप्‍त गरेका उपलब्धिहरुले यस विद्यालयको उत्कृष्टतालाई प्रमाणित गरेको उल्लेख गरिन् ।

किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रुपमा सञ्चालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै जिवन उपयोगी बनाउदै लैजानुका साथै विद्यार्थीहरुको प्रतिभा उजागर हुने वातावरण निर्माणलाई पनि प्राथमिकता दिन सकेमा विद्यार्थीहरुको सर्वाड्गीण विकास हुने र त्यसले विद्यालयका साथै राज्यलाई पनि उपलब्धिमुलक परिणाम प्राप्त हुने भन्दै विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गराउन प्रहरी विद्यालय हर-तरहबाट दत्तचित्त रहेको समेत उल्लेख गरिन् ।

विद्यालयको मुखपत्र ‘दिपिका २०८१’ को विमोचन गर्दै नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत शिक्षक, शिक्षिका, विद्यार्थी तथा प्रहरी कर्मचारीहरुले विभिन्न विद्यामा पुर्‍याएको योगदानको कदर गर्दै ३३ जनालाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा ७० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको छ ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एआईजी टेक प्रसाद राईले समय अनुकुल सिकाई कार्यलाई प्रविधीमैत्री बनाउने उद्धेश्य अनुरुप पछिल्लो समय बिद्यालयको भौतिक संरचना, कक्षागत संरचना र प्रबिधिमा समेत निकै परिवर्तन आएको र नव निर्मित शैक्षिक भवन, प्रविधीमैत्री कक्षा कोठा, लाईब्रेरी,ल्याब, मेश, होस्टल, खेलकुद मैदान आदीले गर्दा अध्ययन, अध्यापन तथा समग्र शिक्षण क्रियाकलाप थप प्रभावकारी हुँदै गएको उल्लेख गर्दै अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधीलाई समेत प्राथमिकतामा राखि प्रशिक्षण गतिबिधीहरु सन्चालन गर्दै आएकोले बिद्यार्थीहरुलाई सैद्दान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरी सिकाईलाई उपलब्धीमुलक बनाउन विद्यालयको शिक्षण समूह निरन्तर लागि रहेको उल्लेख गरे ।

नागरिक समाज, स्थानीय व्यक्तिहरु, अभिभावक र स्वयं विद्यार्थीहरुबाट प्राप्त पृष्ठपोषणलाई हृदयंगम गरी आफ्ना गतिबिधीहरुमा परिस्कृत गरी विद्यालय अगाडि बढिरहेको भन्दै अभिभावक, शिक्षक तथा विद्यार्थीको साझा प्रयासबाट मात्र शिक्षाको गुणस्तर अभिवृद्दि सम्भव भएको भन्दै सदैव अभिभावकहरुबाट रचनात्मक सुझाबको अपेक्षा गरेको कुरा समेत उल्लेख गरे ।

नेपाल पुलिस स्कुल प्रति अभिभावकहरुको विश्वासलाई आत्मसाथ गर्दै अध्यनरत विद्यार्थीहरुको सुन्दर भविष्य निर्माण कार्यमा विद्यालय व्यवस्थापन समिति समेत हरदम लागि पर्दै आएको समेत बताए ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी भाईबहिनीहरुले विभिन्न स्टलहरुमा मनमोहक प्रदर्शनी सँगसगै बढो रोचक र उत्कृष्ट ढंगले मार्च पास, मास पिटी, कराते, जुडो, तेक्वान्दो, जिम्न्यास्टिक, नृत्य, गायन सहितको साँस्कृतिक प्रस्तुतीहरु राखेकोमा प्रस्तुतीहरुलाई प्रभावकारी बनाउन विभिन्न भूमिकामा रहेर योगदान गर्नुहुने सम्पूर्ण शिक्षकवर्ग, गुरुबा, गुरुआमा, प्रहरी कर्मचारी, विद्यार्थी भाईबहिनीहरु सबैलाई विशेष धन्यवाद समेत ज्ञापन गरे ।

नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले र विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक मिन बहादुर कुँबरले विद्यालयलाई देशको नमूना विद्यालय बनाउन आफ्नो तहबाट प्रभावकारी भूमिका निर्वाह गरिरहेको कुरा उक्त कार्यक्रमले प्रष्ट देखाएको थियो ।