काठमाडौँ: अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो।
काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए।
उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको पनि एसपी बोहराले बताए।
२०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

२०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो।
काठमाडौँमा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो। तर धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए।
उनीविरुद्ध सञ्जय अधिकारी लगायतले चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको ५० लाखको चेक बाउन्स भएको अधिकारीको जाहेरीमा उल्लेख थियो।
त्यसअघि उनी व्यापारमा ताला लगाएर परिवारसहित भारत फरार भएका थिए। बैंकहरुको समेत ऋण नतिरेका उनले आफूले सबै ऋण सल्टाउने बताएका थिए।







