काठमाडौं, २०८२ जेठ १९ :- भाडाका सार्वजनिक सवारी साधन नचल्नाले बिहानैदेखि बस प्रतीक्षामा बसेका यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । सडकमा निजी सवारी साधन मात्र चलेका छन्, जसले गर्दा यात्रुहरूको यातायात समस्या अत्यन्तै गम्भीर रूप लिएको छ ।
प्रभावित यातायात मार्गहरू :-
– काठमाडौंबाट भक्तपुर तथा पूर्वी मार्गका सार्वजनिक सवारी साधन फाट्टफुट चलेका छन्।
-भक्तपुरबाट काठमाडौं जाने कुनै पनि सार्वजनिक यातायात सेवा नचल्नाले यात्रुहरू गन्तव्यमा पुग्न असमर्थ भएका छन् ।
आन्दोलनको कारण
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले “राइड सेयरिङ” को नाममा निजी सवारी साधनलाई भाडाका सवारी सरह प्रयोग गर्न दिने नियमावली खारेज गर्न माग गर्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। उनीहरूको दाबी छ कि यो नियम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र संविधानको धारा ५७ को उल्लंघन हो ।
सरकारलाई ध्यानाकर्षण, तर प्रतिक्रिया नभएको:-
सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइएता पनि कुनै ठोस प्रतिक्रिया नआएपछि सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले देशव्यापी बन्द थालेको छ। समितिले यसको जिम्मेवारी सरकारलाई लगाएको छ ।
यात्रुहरूमा पर्ने असर:-
– काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात ठप्प भएको छ।
– निजी सवारी मात्र सञ्चालनमा छन्, जसले गर्दा गरिब तथा मध्यम वर्गीय यात्रुहरू विशेषगरी प्रभावित भएका छन् ।
समाधानको आशामा यात्रुहरू :-
यातायात व्यवसायीहरूको आन्दोलनले दैनिक जीवनमा ठूलो असर पारेको छ। समस्या समाधानका लागि सरकारी स्तरबाट तत्काल पहल नभएसम्म यो अवस्था कायम रहने देखिन्छ ।




