तारकेश्वर नगरपालिका–१ बिहानीचोक नजिकै केही महिनाअघि आफ्नै श्रीमान् ले साबेल प्रहार गरी श्रीमतीको हत्या गरेको घटनामा संलग्न श्रीमान् अहिले प्रहरी अनुसन्धानपछि जेल चलान भइसकेका छन्।
पीडित परिवारमा ७२ वर्षीया वृद्ध आमा र करिब ५ तथा ६ वर्षका दुई बालिका मात्र रहेका थिए। आमाबिना र बाबु जेलमा रहेकाले बालिकाहरूको हेरचाह गर्ने अभिभावक नहुँदा घरमा गम्भीर समस्या उत्पन्न भएको थियो।
यस अवस्थालाई मध्यनजर गर्दै मंगलबार तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, बालबालिका शाखा प्रमुख प्रतिमा मिश्र साथै टिम, वडा नम्बर १ का अध्यक्ष बिदुर सापकोटा र वडा सदस्यहरू, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा ती दुई बालिकाहरूलाई उद्धार गरिएको हो।


उद्धारपछि उनीहरूलाई तारकेश्वर–१ साङ्ला फाँटस्थित चिल्ड्रेन अफ युनिभर्स बाल आश्रममा सुरक्षित गरिएको छ।






आश्रमले दुवै बालिकाको दीर्घकालीन बसोबास, पालन–पोषण, स्वास्थ्य उपचार र शिक्षा लगायत सम्पूर्ण जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाएको छ।







