काठमाडौं, असोज १८ — हाल देशभर लगातार वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले आगामी असोज २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
सोही सन्दर्भमा टोक्हा नगरपालिकाले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगर प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित सूचनामा नदी, खोल्साखोल्सी, ढल प्रणाली तथा पहिरो संभावित क्षेत्रका बासिन्दालाई विशेष ध्यान दिन भनिएको छ। साथै, नगरपालिका भित्रका सडक तथा नालामा अवरोध हुने सम्भावना भएकाले तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ।
सूचनामा भनिएको छ — “अत्यधिक वर्षा र सम्भावित विपद्का घटनाबाट आफू र अरूको जीवन सुरक्षित राखौं। सहयोग र राहत आवश्यक परेमा तत्काल सम्बन्धित निकाय वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस।”
नगरपालिकाले सम्भावित विपद् व्यवस्थापनका लागि आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। जसअनुसार:
नेपाल प्रहरीको हेल्पलाइन: १००
सामुदायिक प्रहरी कार्यालय, टोक्हा: ०१-५९०७२३६
प्रहरी वृत्त, महाराजगञ्ज: ०१-४७२०७६५, ०१-४७२०७१६
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र: ०१-४२६९४६३
नगर प्रमुख: ९८५११३९५४५
प्रमुख प्रशासकीय अधिकृत: ९८५११३९५६६
नगर प्रहरी प्रमुख: ९८५११३९५६७
स्वास्थ्य शाखा: ९८५११३९५६९
नि:शुल्क एम्बुलेन्स सेवा (टोक्हा): ९८४३०००१९३
नगरपालिकाले सबै नागरिकलाई सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न र विपद्का अवस्थामा तुरुन्त सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।



