काठमाडौँ । उडिरहेको विमानमा दुई पाइलटबीच विवाद भएपछि दुबईबाट इजरायलको तेल अभिवतर्फ उडेको फ्लाईदुबईको विमान साउदी अरबको उत्तरपश्चिमी क्षेत्रस्थित ताबुक विमानस्थलमा अवतरण गरिएको छ।
बुधबार बिहान भएको घटनामा करिब १८० जना इजरायली यात्रु सवार विमान निर्धारित मार्गबाट अचानक भड्किएपछि सुरक्षा निकायमा चिन्ता बढेको थियो। विमान तेल अभिवतर्फ जानुको सट्टा साउदी अरबको दिशातर्फ अघि बढेपछि सम्भावित सुरक्षा घटनाको आशंका गरिएको थियो।
विमानले निर्धारित मार्ग परिवर्तन गरेपछि तथा आपत्कालीन अवस्थाको सूचना आएपछि विमान अपहरण भएको हुनसक्ने आशंकासमेत गरिएको बताइएको छ।
तर, विमान सुरक्षित रूपमा ताबुक विमानस्थलमा अवतरण गरेपछि घटनाको कारण दुई पाइलटबीच उडानकै क्रममा विवाद तथा झडप भएको खुलेको जनाइएको छ। पाइलटबीचको विवादका कारण विमान निर्धारित गन्तव्यमा पुग्न नसकी साउदी अरबमा अवतरण गर्नुपरेको बताइएको छ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
थप अपडेटका लागि हेर्दै रहनुहोस् News24Galaxy!




