१३ माघ , काठमाडौँ । गत बुधबार प्रहरीले काठमाडौंमा भइरहेको एउटा नयाँ प्रकारको अपराध पत्ता लगायो । एउटा अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर विश्वभरी अनलाइन जुवा खेलाउँदै आएको महानगरीय अपराध महाशाखाको कारबाहीबाट पत्ता लाग्यो ।
चोभार क्षेत्रमा तीनवटा घर भाडामा लिएर २४ सै घन्टा अनलाइन जुवा खेलाउने गरिएको थियो । प्रहरीले त्यसमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । त्यसरी जुवा खेलाएवापत उनीहरुले निश्चित कमिसन पाउँदै आएका थिए । गिरोहका नाइके भने अमेरिकामा रहेको बताइएको छ ।
दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा त्यहाँबाट अनलाइन जुवा खेलाउने गरिएको प्रहरीले जनाएको छ । चोभारका सुजेन्द्र थापा, प्रदीपमानसिंह बस्नेत र बुद्ध महर्जनले यसरी जुवा खेलाउने गरेका हुन् । यो घटनाले नेपाल कसरी अन्तर्राष्ट्रिय अपराधिक समूहको लागि सुरक्षित भूमि बनिरहेको छ भन्ने प्रष्ट हुन्छ । नेपालबाट यसरी अनलाइन जुवा खेलाउँदा सुरक्षित हुने ठानेर नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
१० महिनादेखि उनीहरूले यो धन्दा चलाएको प्रहरीको दाबी छ । उनीहरूले जुवा, फायर किरिङ, रिभर स्विप्स, रिभर मोनस्टर, भेगास–एस जस्ता एपमार्फत जुवा खेलाउने गर्दथे । जुवा भने विदेशीलाई नै खेलाउँदै आएको प्रहरी भनाइ छ । उनीहरूले जुवा खेलाउन सातवटा एप प्रयोग गरेको र एउटाबाट मासिक दुईदेखि तीन हजार डलरसम्म लिने गर्दथे ।
प्रहरीले मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना, रमादेवी श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु भने कर्मचारी भएको बुझिएको छ । प्रहरीका सूचनाअनुसार यसरी नेपालबाट अनलाइन जुवा खेलाउने दर्जनौँ समूह यहाँ सक्रिय छन् । अन्य समूहमाथि पनि अनुसन्धान सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले बताएका छन् ।



