६ असार , काठमाडौं । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने भनिएको फिल्म ‘ग्रहण’ को छायांकन केही समय ढिलिएको छ । नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘प्रसाद २’ को छायांकन असार दोस्रो साता देखि हुने तयारी बढेपछि फिल्म ‘ग्रहण’ केही समय धकेलिएको हो । गत मेबाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको छैन ।
फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । नम्रताले प्रसादमा नारायणीको भूमिका निर्वाह गरेकी छिन् भने ग्रहणमा योगा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् । सिक्किममै फिल्म छायांकन गर्न नम्रताले नै निर्देशक गुरुङलाई सुझाव दिएकी थिइन् । ‘मैले सोल सिस्टर्सको छायांकन गर्दा नै यहाँ धेरै लोकेशन हेरेकी थिएँ । केहीसँग छायांकन भयो र केहीमा बाँकी थियो । फिल्मको कथा मिल्ने भएकाले सिक्किम सजेस्ट गरेकी हुँ’ नम्रताले भनिन् । उनी फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । यसको लागि उनले केही समय प्रशिक्षण समेत लिएकी थिइन् ।
‘आफूले पाएको क्यारेक्टरलाई न्याय गर्न मैँले प्रशिक्षण समेत लिएकी हुँ । किनकी मैँले जिउने क्यारेक्टरको बारेमा मैँले बुझ्नु जरुरी हुन्छ’ उनले भनिन् । फिल्मको कथा लेख्दा नै नम्रतालाई उक्त क्यारेक्टरमा देखेको निर्देशक राजीव गुरुङले बताए । ‘मैँले क्यारेक्टर तयार गरेपछि नम्रताजीलाई पाए र अफर गरेको हुँ । त्यस्तै अर्को क्यारेक्टरमा विनय जी फिट हुनु भो’ निर्देशक गुरुङले भने । अमेरिकाबाट फिल्म सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रिलर र ड्रामा जनरामा फिल्म तयार गर्दैछन् । फिल्ममा उनकै लगानी रहेको छ । निर्देशक गुरुङको फिल्म प्रतिको लगाव देखेर नै विनय श्रेष्ठले आफू कलाकारसँगै कार्यकारी निर्माताको रुपमा समेत जोडिएको बताए ।



