उपत्यका प्रहरी कार्यालय रानिपोखरीको नेतृत्व सम्हालेसँगै एआईजी रविन्द्र धानुकले उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र मजबुत शान्ति सुरक्षाबाट मात्रै सुशासन, स्थायी शान्ति, विकास र समृद्धि निश्रृत हुने हुँदा हामी हाम्रो जिम्मेवारीमा देश, जनता र सरकारप्रति जवाफदेहीपूर्ण ढंगले प्रस्तुत भइरहेका छौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रविन्द्र धानुकले न्युज२४ग्यालेक्सी सङ्गकाे कुराकानीमा :
राजधानी काठमाडौंको सुरक्षा चुनौती के हो ?
काठमाडौं उपत्यकामा सुरक्षा चुनौतीका रूपमा केही छैन । अहिले शान्ति सुरक्षाको अवस्था मजबुद छ । उपत्यकामा हुने चोरी अपराधलाई नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।
उपत्यकाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। पेशेवर अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरू अहिले सकिएका छन्। समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने कुरामा प्रहरी जस्तोसुकै हिंसात्मक र ध्वंसात्मक गतिविधिबिरुद्ध बलिदानका साथ काम गरिरहेको छ। त्यसैले उपत्यकामा त्यस्तो सुरक्षाको उल्लेखनीय चुनौति महसुस छैन। 
उपत्यकामा गुण्डागर्दी अहिले पनि कायमै छ भन्ने गुनासो धेरै आउने गरेको छ नि ?
अहिले नेपाल प्रहरीमा गुण्डागर्दी भन्ने शब्द नै नौलो भएको छ । सानातिना झै–झगडामा कोही कसैलाई धम्क्याउनेसम्मको गतिविधि हुन सक्छ। ठाउँठाउँमा खुलेआम रुपमा पैसा उठाउने, डर त्रास सृजना गर्ने जुन खालका घटनाहरू विगतमा थिए। त्यो अहिले पूर्ण रुपमा नियन्त्रण भइसकेको छ।
जनताको शान्तिपूर्वक बाच्ने र आफ्नो हकअधिकार उपयोग गर्ने अधिकारलाई गुण्डागर्दीको नाममा वा अन्य कुनै नाममा कोहीकसैबाट क्षति पुर्याउने काम भएमा त्यस्ता व्यक्तिविरुद्ध प्रहरी आफ्नो अधिकार निर्दयीपूर्वक प्रयोग गर्ने कुरामा पछि हट्दैन।
स्थायी शान्ति , सुशासन, समृद्ध मुलुक र सुखी नेपालीको लागि सरकारबाट भइरहेको प्रयत्नमा अवरोध गर्ने जो कोहीमाथि आफ्नो क्षेत्राधिकारभित्र प्रहरी निर्दयीपूर्वक प्रस्तुत हुन्छ। अबका दिनमा समाजकै एक सदस्यको गुण्डागर्दीबाट अर्को सदस्य त्रसित हुनुपर्ने अवस्था रहने छैन। 
तपाईं उपत्यकाको प्रहरी प्रमुख भएर आउनु भएपछि प्रहरीको आचरण सुधार गर्ने अभियान चलाउनुभएको छ रे ?
मैले उच्च प्राथमिकताका साथ प्रहरीको आचरण व्यवहारमा सुधारको अभियान तिब्रताका साथ अगाडि बढाएको छु। प्रहरीको असल आचरण व्यवहार निष्पक्षता इमानदारिता र व्यावसायिकताबाट सरकारको सुशासनको अभियान पूर्णतामा पुग्ने प्रकृया शुरु हुन्छ। यसबाट शान्ति सुरक्षा मजबुत र सुदृढ पनि बन्दछ। यति हुँदाहुँदै पनि यदाकदा प्रहरी लोभलाभमा परेका अप्रिय घटनाहरू हुने गर्दा हामी संगठनका सदस्यहरूको शिर निहुरेको छ।
त्यसैले यस्ता घटनाहरू रोक्न र घटेको अवस्थामा कडाभन्दा कडा कानुनी कारबाही गर्न हामी कृयाशील छाैं यो युनिफर्मको दुरुपयोग गरेर यूनिफर्मकै आडमा कोही कसैलाई गैह्रकानुनी लाभ प्राप्त गर्ने अधिकार छैन र यदि कसैले त्यस्तो गर्छ भने त्यसलाई यो संगठनमा बस्ने अधिकार पनि छैन।
त्यस्ता प्रहरीविरुद्ध हामी निर्दयीकासाथ कारबाही गर्छौं। कुनै पनि सुरक्षाकर्मीले आफ्नो स्वार्थपूर्तिका लागि लाभ गरेमा, त्यस्ता प्रहरी कर्मचारीलाई सूचना आउना साथ कारबाही गर्छाैं। भर्खरै मात्र केही अधिकृत र जवानले आफ्नो अधिकार क्षेत्रभित्र बाहिर गएर काम गरेकाले कारबाहीको दायरामा ल्याएका छौं।
आर्थिक विषयवस्तुसँग जोडिएर आउने कुनै पनि घटनाको बारेमा संगठनभित्र कुनै पनि कम्प्रमाइज हुँदैन। संगठन बलियो हुनुपर्छ। संगठन चेन अफ कमान्डमा चल्नुपर्छ। कानुनको मजबुद प्रयोग पहिला संगठनभित्र हुनुपर्छ। त्यसपछि मात्र समाजमा पुग्छ।
संगठनभित्र युनिर्फम लगाएर त्यसको आडमा गलत काम गर्ने छुट कसैलाई पनि छैन। यदि कसैले गरेको पाइएमा ठाउँको ठाउँ कारबाही हुन्छ। मुलुक बनाउनु छ, समाज बनाउनु छ, परिवर्तन गर्नुछ। परिवर्तन आफैंबाट गर्नुपर्छ। संगठनभित्र राम्रो परिपाटी बसेपछि समाजमा लागू गर्न पनि सहज हुन्छ। सुधार अभियानको अभियनता आफैं बन्नुपर्छ।
उपत्यकाको शान्ति सुरक्षा मजबुत बनाउन अहिले प्रहरीको संख्या थप्नुपर्ने अवस्था छ कि छैन ?
उपत्यकाभित्र शान्ति सुरक्षा कायम गर्न प्रहरीका विभिन्न तहका कार्यालयहरूले काम गरिरहेका छन्। प्रहरीको सेवा लोकप्रिय बनेसँगै आम नागरिकले प्रहरीको सेवाको माग बढाएका छन्। कतिपय ठाउँमा भौतिक संरचना नभएका कारणले माग भएर पनि राख्न सकिरहेका छैनौं।
स्थानीय तह, समुदायहरूले संरचना निर्माणमा सहयोग गरेको ठाउँमा माग हुनासाथ युनिट राखेका छौं। उपत्काभित्र वस्ती विकास हुने क्रम तीब्र गतिमा अगाडि बढेको छ। उपत्यकाभित्र प्रहरीको जनशक्ति अझै बढाउनुपर्ने आवश्यकता छ। प्रविधिको प्रयोगको आधारमा कति सख्या बढाउने भन्ने विषयको टुंगो लाग्छ।
सीसी क्यारा जडान ठूलो संख्यामा गर्न सक्यांै, अनुसन्धानलाई प्रविधिमैत्री बनायौं भने केही जनशक्ति अपुग भए पनि धेरै काम गर्न सकिन्छ र शान्ति सुरक्षालाई मजबुद बनाउन सकिन्छ। प्रविधि पनि लगानी गर्न सकेनौं, जनशक्ति पनि कम भयो भने काम गर्न कठिनाइ हुन्छ। हामीसँग अहिले उपत्यका हेर्न जनशक्ति नौ हजारको संख्यामा छ।
बढ्दो शहरीकरणको स्थालाई हेर्ने हो भने करिब १५ हजार जनशक्ति पुर्याउनुपर्ने आवश्यकता छ। सबै प्रहरीले सबै काम गर्नुपरिरहेको अवस्था छ। एउटै मान्छेलाई सबै कुरामा दक्ष हो भनेर हुँदैन। विषयगत ज्ञान दिएर दक्षता बढाउनुपर्ने आवश्यकता छ।
अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रणमा लगानी बढाउनु अपरिहार्य भएको छ। यथास्थितिको लगानीबाट अपेक्षित उपलब्धि हासिल गर्न कठिन छ। सेवा विशिष्टिकरणको अपरिहार्यतालाई सम्बोधन गर्नु जरुरी छ। उपलब्धि लगानीको आधारमा प्राप्त हुने हुँदा त्यसतर्फ हामीले ध्यान दिएका छौं।
अन्तमा तपाईंको भन्नु केही छ कि ?
सुरक्षा सबैको साझा विषय हो। यसलाई सरकारको मात्र दायित्व हो वा सुरक्षा निकायको मात्र कर्तव्य हो भन्ने बुझ्नुहुँदैन। शान्ति सुरक्षा कायम गर्ने कुरामा सुरक्षा निकायको अहम भूमिका र जिममेवारी रहन्छनै तथापि आम नागरिकको भूमिकालाई पनि भुल्न सकिदैन।
सबैको प्रयासबाट सुरक्षित समाज सुरक्षित मुलुक बनाउन सके मात्र हामी सबैले आफ्नो जीवनमा आर्जन गरेको मान, प्रतिष्ठा र आर्थिक उपलब्धिको उपयोग गर्दै आफ्ना सन्ततिलाई सभ्य, सुरक्षित समाज हस्तान्तरण गर्न सक्छांै।
अन्यथा हाम्रा सबै प्रकारका हकअधिकारका साथै जीवनकै असुरक्षाले एउटा भय त्रास र आतंकमा जिउनुपर्ने अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले एकअर्कालाई आरोपप्रत्यारोप र नकारात्मक टिकाटिप्पणी गर्नुभन्दा सुरक्षालाई सबैले साझा अपरिहार्य आवश्यकताको रूपमा बुझी आ–आफ्नो ठाउँबाट योगदान गर्न आम नागरिकहरूलाई अनुरोध गर्दछु।


