१८ माघ , काठमाडौं । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।
जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । ‘खोप लगाउनेको सङ्ख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमितरूपमा गरिरहेका छौँ’, धामीले भने ‘कैलाली कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा समेत सचेत भएका छन् ।’
कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए । ‘बालबालिकाको सङ्ख्याभन्दा केही मात्रा कम खोप आएको छ । हामीले थप माग गरेका छौँ’ ,धामीले भने, ‘सबै बालबालिकालाई समयमै खोप लगाउन सुरु गरिएको छ ।’




