३ फागुन, काठमाडौं । युरेनियम भनिएको पदार्थसहित ८ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिचन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महतसमेत रहेका छन् । उनी ललितपुर क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभाका उम्मेदवार दिए । बौद्ध इलाकामा केही ब्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयबाट समेत सादा पोशाकमा प्रहरी परिचलन गरिएको थियो ।

प्रहरीले खोजबिनका क्रममा ह्यायत रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको हो । सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् । यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन ।



