०९ फागुन , काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो ।
विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियुक्त भएका थिए । कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी निकटका मात्रै रहेको तर एमाले निकट कोही नपरेको भन्दै अनेरास्ववियुले ७ पुसमा ताला लगाएको थियो । अनेरास्ववियुले सबै नियुक्ति अवैधानिक रहेकाले तत्काल नियुक्ति बदर गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरेको हो । तर अहिले अन्य राजनीतिक दल निकट विद्यार्थी संगठनले पनि आ-आफ्ना माग अघि सार्दै विश्वविद्यालयमा तालामाथि ताला लगाएका छन् ।
विश्वविद्यालयमा लगाइएको ताला नखुलेपछि प्रशासनिक कामकाजमा कठिनाइ भएको विश्वविद्यालयमा उपकुलपति अम्मराज जोशीले बताए । ‘२७ फागुनमा विश्वविद्यालयमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘सो समारोहमा प्रधानमन्त्रीज्यूले पनि समय दिने भन्नुभएको छ, तर तालाबन्दीका कारण तयारी गर्न पाइएको छैन ।’
प्राध्यापक नियुक्ति प्रक्रिया बदर हुनुपर्ने, बढाइएको शुल्क फिर्ता हुनुपर्नेलगायतमा माग राखेर अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले दुई महिनादेखि विश्वविद्यालयको मूलगेट र उपकुलपति तथा रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले विश्वविद्यालय निर्देशकदेखि सहायक डिन र परिषद् सदस्य नियुक्ति अवैध भएकाले तत्काल खारेज गर्नुपर्नेलगायत विभिन्न माग अघि सारेका छन् ।
आन्दोलनरत विद्यार्थी संगठनहरूलाई वार्तामा बोलाउँदा उनीहरूले राजनीतिक दलका मुद्दा अघि सार्ने गरेको उनले बताए । विश्वविद्यालयमा उपकुलपति नयाँ आएपछि कामले गति लिए पनि तालाबन्दी जस्ता गतिरोधका कारण काम गर्नसमेत समस्या भइरहेको उनले बताए ।
विद्यार्थी संगठनले भने प्रशासनबाट अवैधानिक तरिकाले नियुक्ति हुन थालेपछि तालाबन्दी गरिएको दाबी गरेका छन् । अनेरास्ववियुका कञ्चनपुर अध्यक्ष कमल रोकायाले आवश्यकताभन्दा बढी कर्मचारी भर्ना हुन थालेपछि ताला लगाइएको बताए ।




