१२ फागुन , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारवाही गर्ने विशेष अपरेशनलाई आज पनि निरन्तरता दिएको छ । आज ललितपुरको पाटन एरियामा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन स्वीप अपरेशन चलाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेका हौ । यसले आम सडक प्रयोगकर्ताहरूलाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिएका छौ ।

उहाँले “नो पार्किङ्ग” जोन र अन्य सवारी आवागमनलाई असर गर्ने गरी पार्किङ्ग गरेका सवारी साधनलाई हटाउने यस अभियानलाई थप प्रभावकारी बनाईने समेत बताउनुभयो । अनाधिकृत पार्किङ्ग हटाउने अभियानलाई निरन्तरता दिदैँ आज ललितपुरको पाटन एरियामा ३७ सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले अनाधिकृत स्थानमा पार्किङ्ग गर्ने त्यस्ता सवारी चालकहरूलाई कारवाही गर्नुका साथै जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न समेत सचेत गराएको छ ।

बौद्ध एरियामा गरिएको स्वीप अपरेशनमा आज १०० सवारी साधनलाई कारवाही गरिएको छ भने आसपासका अन्य सडकहरूमा पार्किङ्ग व्यवस्थापन समेत गरिएको महाशाखाले जनाएको छ । कोरिडोर सडकहरूमा हुने सवारी तथा पार्किङग व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्ट समेत स्थापना गरिसकेको छ ।
महाशाखाले सम्पूर्ण सवारी चालकहरूलाई सवारी आवागमनमा असर पर्ने गरी अनाधिकृत स्थानमा पार्किङ्ग नगर्न विशेष अनुरोध समेत गरेको छ ।



