१२ फागुन, काठमाण्डौं । बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवाला बीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पनन् गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकाको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो ।
तोकिएका समयमा सडक निर्माणको काम सम्पनन् नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पनन् नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो ।
ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बनन् नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भनिन्, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
सडक बनाउने जिम्मेवारी
संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पनन् नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।
कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ ।
काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पनन् हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।


