
२७ जेठ, काठमाडौ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने १६ किलोमिटर सडक बनाउने भन्दै सरकारले ठेक्का दिएको करिब आठ वर्ष हुन लाग्यो ।

उक्त सडक स्तरोन्नतिका लागि शैलुङ कन्स्ट्रक्सन र अर्को ठेकेदार कम्पनी एआईपीएल जेभीले २०७१ साल जेठ २२ गते जिम्मा पाएको थियो । तर, ठेकेदार कम्पनीले समयमा काम नसक्दा स्थानीयहरुले पाउने दुःख भने बढिरहेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६, तेलकोट आसपासमा बिहीबार परेको वर्षासँगै धेरै स्थानीयहरुको घरमा भल पसेर हिलाम्मे भएको छ । बास्तोला गाउँ, तेलकोट, फेदी टोलमा रहेका करिब दुई दर्जन घरमा भल परेर हिलाम्मे भएको स्थानीय राजकुमार लामिछानेले जानकारी दिएका छन् । सडक निर्माण क्रममा बनाइएका नाली पूर्ण रुपमा सम्पन्न नभएको कारणले भल स्थानीयको घरमा पसेको हो ।

उद्धव बाँस्तोला, राजकुमार बाँस्तोला, जयराम लामिछाने ९जय बा० गोविन्द बाँस्तोला, राधेश्याम लामिछाने, जनक लामिछाने, विज्ञान लामिछाने, प्रह्लाद अधिकारी, दिनेश लामिछाने, ईश्वरी लामिछाने, बट्टु लामिछानेलगायतको घरमा भल(नालीको पानी) पसेर हिलाम्मे भएको हो ।

शैलुङ कन्स्ट्रक्सनको लापरबाहीका कारण कमलविनायकदेखि पर्यटकीय क्षेत्र नगरकोटसम्म जाने १६ किलोमिटर लम्बाइको अहिलेसम्म ४ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । विगतमा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । स्थानीयहरुले पटक–पटक विरोध गर्दै आएपनि सडक निर्माण कार्यले गति लिन सकिरहेको छैन ।








