Comments Add Comment

Advertisment

SKIP THIS

रोकिएन सुन तस्करी, विमानस्थलका कर्मचारीकै मिलेमतो

२१ फागुन , काठमाडौं । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो ।

गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।

गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ । उनी ३०औँ पटक नेपाल आएको पाइएको छ ।

विमानस्थल प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४्७५ मा १७ केजी ३३८ ग्राम, २०७५्७६ मा २७ केजी ११ ग्राम, २०७७७ मा साढे तीन केजी र २०७७७८ मा ३२ केजी तथा चालू आव २०७८्७९ मा मात्र १९ केजी तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार विमानस्थल भएर तीन किसिमले सुनको तस्करी हुने गरेको छ । विमानका कर्मचारीको मिलेमतोमा हुने तस्करी विमानको डस्टबिन हुँदै बाहिर निकालिन्छ ।

दोस्रो, अध्यागमन र भन्सारका केही कर्मचारीको सहयोग र सेटिङमा र तेस्रो, विमानस्थलका सुरक्षाकर्मीले प्रयोग गर्ने बाटो हुँदै तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

गृह मन्त्रालयले २०७४ चैत २० मा सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरेको विशेष अनुसन्धान समितिले ३३ किलो सुन प्रकरणका प्रमुख मानिएका चूडामणि उप्रेती ‘गोरे’को डायरीमा पाँच वर्षभित्र ३८ सय केजी सुन तस्करी भएको तथ्य खुलेको पाएको थियो ।

समितिका एक उच्च अधिकारीका अनुसार गोरे समूहले मात्र एकै महिनामा २३ पटक ३३ केजी सुन तस्करी गरेको थियो । नेपालमा दैनिक औसत ३० केजी सुनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै