१९ असार , काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकालाई हैजाको ‘रेड जोन’मा राखेको छ ।
काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको हो ।
शुक्रबारसम्म उपत्यकाका ६ पालिकामा संक्रमित देखिएको छ । काठमाडौँ महानगरपालिकामा मात्र हैजाका १० संक्रमित रहेको महाशाखाले जनाएको छ ।
दैनिकजसो घरबाहिरको खानेकुरा खाने, श्रमिक वर्ग, फिल्डमा खटिने व्यक्तिहरू धेरै संक्रमित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । जुनसुकै स्रोतको पानी उमालेर मात्र पिउन र बाहिरको खानेकुरा सकेसम्म नखान डा. पुनको सुझाव छ ।






