२४ फागुन , काठमाडौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५।१८ अंक ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो ।
६३।०७ अंक ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो, ६२।२० अंकसहित बराहपोखरी तेस्रो, ५८.३८ अंकसहित खोटेहाङ चौथो, ५७.०२ अंकसहित साकेला पाँचौँ, ५६.३६ अंकसहित रावाबेँसी छैटौँ, ५१.३४ अंकसहित जन्तेढुङ्गा सातौँ, ५१.२७ अंकसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अंकसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अंकसहित केपिलासगढी गाउँपालिका १० औँ स्थानमा परेका छन् ।
आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने चलन रहेको जनाइएको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो ।
आयोगले पालिकाले समयमै बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरेरनगरेको, आउँदो आर्थिक वर्षका लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलगायतका विषयमा मूल्यांकन गर्छ ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति सेवा लिने महिलाको संख्यालगायत शीर्षकका सूचकको आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।


