०३ बैशाख , काठमाडौं । कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।
गत ३ पुसमा कैलाली जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रूखमा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स तरिकाले हत्या गरेका थिए ।
उनको हत्यामा संलग्न रहेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका-९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् ।
रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारैजनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।
हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो । त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।


