६ वैशाख , काठमाडौ । स्थानीय निर्वाचन हुनु ठीक १२ दिन अगाडि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
स्थानीय निर्वाचनमा अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले भूमिका निर्वाह गर्ने सन्दर्भमा निर्वाचनको मुखमा नै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक थापाले अनिवार्य अवकाश पाउनु र नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गर्ने अवसर पाउनुलाई सरकारको लागि संयोगमात्र नभएर चुनावको सन्दर्भमा एउटा राम्रो उपलब्धिको रुपमा समेत हेरिएको छ । वर्तमान सरकारले आफ्नो चुनावी स्वार्थ पूरा गर्नका लागि १६ महिना वरिष्ठ रहेका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई किनारा लगाउन सक्ने चर्चा सुरु भएको छ ।
एआईजीपीहरु धीरज प्रताप सिंह र रविन्द्र धानुकको चलखेल बढिरहेको स्रोत बताउछ । धीरज प्रताप सिंह सिंहलाई एक नम्बरमा बढुवा गर्न प्रधानमन्त्री देउवा र प्रचण्ड दुबैको सहमति भएको र दैलेखका ठकुरी बाबुसाहेबको सोर्सफोर्स र शक्ति केन्द्रमा पहु“च समेत भएकाले उनको चर्चा बढी नै हुने गरेको छ । त्यसैगरी बैतडी घर भएका रविन्द्र धानुकले पनि सम्पूर्ण शक्ति खर्च गरेर आईजीपी बन्ने प्रयास गरिरहेको स्रोत बताउछ ।
विगतमा डीएसपी हुँदा पीएसओ भएर प्रधानमन्त्री देउवासँग निकटको सम्बन्ध राख्न सफल भएका र यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपीको जिम्मेवारीमा रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकको सम्बन्ध बनाउन सफल भएका अतिरिक्त प्रहरी महानिरीक्षक रविन्द्र धानुकलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउनु पर्छ भन्दै सुदूरपश्चिम प्रदेशका सबै दलका नेता, कार्यकर्ता, साहुमहाजनहरुले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दवाव दिएको स्रोत बताउछ ।
यो कसरतलाई अर्थमन्त्री जनार्दन शर्माले पनि सहयोग गरेको बुझिएको छ । नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्न भनेर गृह मन्त्रालयमार्फत नेपाल प्रहरीले गरेको प्रस्तावलाई अर्थमन्त्री शर्माले धानुकको पनि बढुवा गर्ने शर्तमा मात्र सहमति जनाएका थिए ।
विगतमा पनि माओवादीसहितको सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले वरीयताक्रममा अगाडि रहेका नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरुलाई पछाडि पार्दै जिल्लाबासीको हैसियतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गरेका थिए ।
दुईजना वरिष्ठ अतिरिक्त महानिरीक्षकलाई पन्छाएर वरिष्ठतामा तेस्रो स्थानमा रहेका चन्दलाई महानिरीक्षकमा बढुवा गरेको निर्णयलाई प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले उल्ट्याइदिएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा वरीयताक्रममा दोस्रो स्थानमा रहेका प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाउन बाध्य भएका थिए ।
मानव स्रोत तथा प्रशासन विभाग प्रमुख रहेका वरिष्ठ एआईजीपी विश्वराज पोखरेलले एसपी सानुराम भट्टराईलाई महानगरी प्रहरी परिसर काठमाडौंमा गरेको काज सरुवालाई प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणले काज रद्द गर्ने निर्णय गरेकाले पोखरेललाई धक्का पुग्न गएको चर्चा छ । यो घटनाले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले एआईजीपी विश्वराज पोखरेललाई विश्वास नगरेको हो कि भन्ने कोणबाट प्रहरीमा चर्चा सुरु भएको छ ।
यस पटक पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले प्रहरीमा वरिष्ठलाई पन्छाएर भा“डभैलो मच्चाउने संकेतहरु देखा परेका छन् । यस कारण शैलेश थापापछिको नेपाल प्रहरीको महानिरीक्षक अब को हुने भन्ने अन्यौल सिर्जना भएको छ ।
आईजीपी बन्नका लागि चालिस खोकासम्म बढाबढ भएको हल्ला चल्नु र चार जना एआईजीपीहरुको बढुवाका लागि चलखेल बढ्नु बाघ कराउने र बाख्रा हराउने संयोग हुन गएको छ ।
प्रधानमन्त्री देउवास“गै गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वरिष्ठताको क्रममा पछाडि रहेका एआईजीपीद्वय धीरज प्रताप सिंह र रविन्द्र धानुकलाई च्यापेको र नेपाल प्रहरीको नियम र सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार जेष्ठताको हिसाबले विश्वराज पोखरेल नेपाल प्रहरीको महानिरीक्षक हुनुपर्ने अवस्था छ ।
अर्का एआईजीपी सहकुल थापा चाहिं जेष्ठ एआईजीपी र कनिष्ठ एआईजीपीको बीचबाट जे जसरी हुन्छ, आफू फुत्त आईजीपी बन्ने अभियानमा रहेको स्रोत बताउछ । प्रहरीको आगामी नेतृत्वको यो अन्योलतामा नेतृत्व कसले हात लगाउँछ भन्ने कौतुहलता र अन्योल प्रहरीभित्रै जन्मिन पुगेको छ ।


