१२ बैशाख , काठमाडौं । बागलुङमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति भएको छ । लामो समयको छलफल र कसरतपछि गठबन्धनको भागवण्डा टुंग्याइएको छ ।
स्थानीय तहदेखि जिल्ला समन्वय समितिसम्म दलहरुले भागवण्डा मिलाएका छन् । लगातार चार दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमतिसमेत भएको छ । बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यस्तै, छ गाउँपालिकामध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ ।
गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसिखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा (एकीकृत समाजवादी)ले पाउने भएका छन् ।








