१३ वैशाख , काठमाडौ । अभिनेत्री वर्षा सिवाकोटी यही बैशाख ९ गते विवाह बन्धनमा बाँधिइन् । उनले आशिष गेलालसँगको केही महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा भएको विवाह समारोहमा बेहुला र बेहुली पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । वर्षाले फिल्म क्षेत्रका आफू नजिकका कसैलाई पनि बोलाएकी थिइनन् ।
आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिन वर्षाले बेहुलाको परिचयदेखि बिहे हुने मिति र स्थानसम्म गोप्य राखेकी थिइन् । तर, सेलिब्रेटीको कुरा जति लुकाए पनि कहाँ लुक्न सक्छ र १ विवाहको दिन बेहुलाको नाम, ठेगानासहित बिहेका तस्विरहरु नै बाहिरिए । अन्ततः वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराइन् ।
तर, वर्षाले आफू आशिषसँग विवाह जीवनमा बाँधिएको जानकारी गराए पनि बिहेका तस्विरहरु भने सार्वजनिक गरेकी थिइन् । बिहेको भोलीपल्टबाट भने उनले किस्तामा तस्विरहरु सार्वजनिक गर्न थालिन् । पहिलो दिन हल्दी र दोस्रो दिन मेहेन्दी र संगीत सेरोमनीको तस्विरहरु सार्वजनिक गरेपछि वर्षाले सोमवार साँझ आफ्नो सामाजिक सञ्जाल विवाहका तस्विरहरुले रंग्याएकी छन् ।
वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनको नेपाल घर भने बालुवाटार हो । गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो । फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको डेब्यू गरेकी वर्षाको नयाँ फिल्म ‘लक्का जवान’ यही बैशाख २३ गते प्रदर्शनमा आउँदैछ ।




