Comments Add Comment

केपी ओलीजीले झुटमाथि झुट बोल्नुभयो : उहाँका काण्ड भनि साध्य छैन : काँग्रेस प्रवक्ता महत

२६ बैशाख , काठमाडौं । नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको बताए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’

ओलीले सरकारमा हुँदा काण्डै काण्ड मच्चाएको भन्दै आफ्नै पार्टीबाट गम्भीर आरोप खेप्नुपरेको कुरा पनि महतले स्मरण गराए । ‘ओलीको पालामा काण्डै काण्ड भए । भनिसाध्य छैन,’ उनले भने, ‘ओलीमाथि आफ्नै पार्टीबाट गम्भीर आरोप सचिवालयमा दर्ज भएको थियो । उहाँले काण्ड नमच्चाएको भए आफ्नै पार्टीबाट गम्भीर आरोप लाग्थ्यो रु’

कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकारको ध्यान कमिसनमा केन्द्रित भएको उनको भनाइ छ । ‘कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकार कसले बढी कमिसन दिन्छ भनेर कुदिराख्नु भएको थियो । काँग्रेसको सरकार आएपछि खोपको सुनिश्चितता भयो । कोरोना भयावह स्थितिको अन्त्य भएको छ,’ उनले भने ।

ओली सबै कुराले असफल भएर सरकारबाट बाहिरिएको काँग्रेस प्रवक्ता महतको दाबी छ । ‘उहाँले सरकार चलाउन नसकेर दुई दुई पटक हात उठाएपछि काँग्रेसले मुलुक सम्हाल्नुपर्यो । उहाँका पार्टीका दुई घटक आए काँग्रेसलाई मुलुक सम्हालिदिनु पर्यो भनेर आउनुभयो, उहाँले ठूला कुरा गर्ने रु,’ महतको प्रश्न छ ।

यस्तै केपी ओलीको पालामा ऋण लिएर घ्यु खाने काम भएको उनको भनाइ छ । ‘घ्यु पनि जनतालाई होइन केही समितिले खाए,’ उनले भने, ‘केपी ओली अहिलेसम्म सरकारमा भएको भए नेपाल श्रीलंका भइसक्यो । नेपाललाई श्रीलंका पुराउने ओलीजीको योजना काँग्रेसले असफल पारेको छ ।’

ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको उनको दाबी छ । ‘अहिले हाम्रो सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ । हाम्रो सरकार आएपछि अनुदान आएको आयै छ,’ उनी भन्छन्, ‘अमेरिका, भारत चीन, जापानले पनि अनुदान दिराख्नुभएको छ । नेपाली काँग्रेसको सरकार आएपछि अन्तराष्ट्रिय विश्वासको वातावरण बनेको छ । देश ऋणमुक्त हुने बाटोमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै