३० बैशाख , काठमाडौं । देशका विभिन्न जिल्लाका पालिकाअन्तर्गतका ७७ मतदान केन्द्रमा पुन चुनाव हुने भएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुबीचको झडपका कारण मतदान स्थगित भएको हो।
आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार शुक्रबार राति १० बजेसम्म राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोक्नेछन् । मतदान अधिकृतले स्थानीय स्तरमा छलफल चलाएर नयाँ मिति छिट्टै तोक्ने बताइएको छ । सहमति जुटेपछि अधिकृतले सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । शुक्रबार भएको निर्वाचनअन्तर्गत लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन ।


