०२ जेठ , काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।
अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा ३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।






