११ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् ।
आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् ।
‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’
उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’
निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् ।‘मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनाेट गर्नुभएको छ’ वक्तव्यमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’







