१४ जेठ , काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।
भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा–आमालाई काटिरहेको छ’, भनेका थिए ।
त्यसपछि कुद्दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा–आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले वयानमा भनेका छन् ।
भीमबहादुरले वयानमा थप भनेका छन्, ‘भाइ (ऐतराज)ले पहिले पनि बुबा–आमासँग विवाद झगडा गरी बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा–आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’
भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे । त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।
उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् । २२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् ।


