काठमाडौं महानगरपालिका-१६, का अध्यक्ष मुकुन्द रिजालले महानगर क्षेत्रको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न केबलकारको प्रस्ताव गरेका छन् ।
सोमबारको पहिलो महानगर कार्यपालिका बैठकमा अध्यक्ष रिजालले गोलढुंगाको बतासेडाँडाबाट बञ्चरेडाँडामा निर्वाध फोहर पुर्याउन केबलकारको प्रस्ताव राख्दा बैठकको लाइभ हेरिरहेका महानगरबासी उत्साहित भएका हुन् ।
केबलकारबाट सिधै बञ्चरेडाँडामा फोहर पुर्याउन सके सहज र छिटो पनि हुने रिजालको तर्क छ ।
‘काठमाडौंको फोहर व्यवस्थापन हुने सिसडोल हैन बञ्चरेडाँडा हो । पीएल सिंहको पालामा बञ्चरेडाँडामा हेलिकप्टर मार्फत् फोहर पुर्याइएकै हो ।
बञ्चरेडाँडामा फोहर लैजान गोलढुंगाको बतासेडाँडामा केबलकार हालियो भने फोहर कतै पनि डम्पिङ नगरी सिधै पुर्याउन सकिन्छ । बाटोमा अवरोध पनि हुदैन तर, काठमाडौंको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्नुअघि त्यहाँका स्थानीय बासिन्दाहरूको समस्यालाई सम्बोधन गरिनुपर्ने रिजालको अडान रहेको छ ।
काठमाडौंको फोहर व्यवस्थापनमा माफिया हाबी भएको बताउँदै रिजालले कर प्रणाली पनि वैज्ञानिक नभएको औंल्याएका छन् ।
‘फोहर कसले उठाइरहेको छ ? पहिले काठमाडौं महानगरपालिकाले भन्नुपर्छ । महानगरपालिकाले हो कि कुनै माफियाले उठाइरहेको हो ? पहिचान गरिनुपर्छ ।’
‘महानगरबासीमाथि दोहोरो कर किन लगाउने ? घरजग्गा कर, घरभाडा कर, व्यवसाय कर पनि लिने ? अनि माफिया लगाएर फोहर उठाएको कर पनि लिन पाइन्छ ?’ रिजालले प्रतिप्रश्न गरेका छन् ।
काठमाडौं महानगरपालिकाले नै फोहर उठाउने जिम्मा लिनुपर्ने भन्दै अध्यक्ष रिजालले अरूले उठाउँछ भने पनि महानगरबासीलाई दोहोरो मारमा पार्न नहुने’मा जोड दिएका छन् ।
घर-घरबाट फोहर व्यवस्थापन गर्न योजना ल्याउनुपर्नेमा जोड दिँदै फोहरलाई मोहर बनाउने नारासहित काठमाडौंभित्रै व्यवस्थापन गर्न सक्ने हो भने त्यो नै ठूलो उपलब्धि हो ।
अनिमात्र फोहरको मात्रा घट्छ र व्यवस्थापन गर्न पनि सहज हुन्छ ।
हक्की र निर्भिक स्वभावका रिजाल यसअघिको कार्यकालमा पनि यसरी बोल्दा हुन् तर, यो कार्यकालको पहिलो बैठकमा विज्ञानसम्मत ढंगले बोलेको देख्दा भने उनका प्रशंसक एवं समर्थकहरू हर्षित भएका छन् ।
नेपाली काँग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं-७ का सभापति समेत रहेका रिजाललाई क्षेत्रबासीहरूले भावी सांसदको रूपमा हेर्ने गरेका छन् ।


