२७ जेठ , काठमाडौं । नेकपा एमालेका सांसद बिमला विकले किसानहरु मल खोज्न हैरान भइरहेको र संसद्मा सांसद्हरु मन्त्री खोज्न हैरान भइरहेको भन्दै व्यंग गरेकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सांसद्हरुले खेतीको समयमा किसानले मलखादका लागि भोग्नुपरेको सास्तीका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘वर्षासँगै धानखेती शुरु भयो । किसान मल खोज्न हैरान छन् । हामी मन्त्रीज्यू खोज्नमा हैरान छौं । न किसानले मल भेटे, न हामीले मन्त्री भेट्यौं,’ उनले भनिन्, ‘म सरकारलाई सोध्न चाहन्छु किसानले मल पाउँछन् कि पाउँदैनन्।’
उनले संसद्मा कृषि तथा पशुपन्छी मन्त्री नै उपस्थित नभएको बताईन् । आफूहरु मन्त्रीको खोजीमा रहेको टिप्पणी गर्दै उनले किसानले पारी (भारत)बाट दुस्ख गरेर ल्याएको मल नखोस्न पनि सांसद विकले आग्रह गरिन् ।
‘किसानले दुस्ख गरेर पारी (भारत)बाट ल्याएको मल खोसेर बहादुरी कमाउने कोसिस नगरियोस्। त्यसरी पारिबाट मल ल्याउँदा ध्यान उत्पादन बढेछ भने यही सरकारलाई सुविधा हुनेछ कि हाम्रो कुशल व्यवस्थापनले उत्पादन बढेछ भनेर भन्न,’ विकले भनिन् ।



