१९ असार , काठमाडौं । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी महिलाकी आमाबाबुले छोरीमाथि स्कुलले शोषण गरेको आरोप लगाएका छन् । भावविह्वल अवस्थामा बुद्धनगरस्थित विद्यालयमा आइपुगेका बाबुआमाले छोरीलाई विद्यालयले धेरै काम लगाउने तर पारिश्रमिक दिन आनाकानी गर्ने गरेको बताएका हुन् । उनीहरुले काठमाडौं बसेर काम गर्ने छोरीलाई आफूहरुले घरबाटै खर्च पठाउनु परेको पनि बताएका छन् ।
‘एक दिनपनि स्कुलले छुट्टी दिँदैनथ्यो । काम गरेको पैसा माग्यो भने ३ महिनाको एकपटक दिने गर्थ्यो । काठमाडौंकी छोरीलाई घरबाटै पैसा पठाउँथे ’, मृतकका बाबुले भावुक हुँदै भने । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी शनिबार साँझ मृत फेलापरेकी थिइन् । होस्टलको क्यान्टिनमा काम गर्ने उनको हत्या भएको हुन सक्ने परिवारको आशंका छ ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन चर्काएपछि विद्यालय क्षेत्र अशान्त बनेको छ । घटनापछि शनिबार नै विद्यालयले अभिभावकलाई एसएमएसप पठाएर आइतबार बिद्यालय बन्द हुने जानकारी गराएको थियो ।







