२३ साउन , काठमाडौ । प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ ।
यो प्रदेशमा दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् । यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत कडा खाले मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । प्रहरीको तथ्याङ्कमा १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छन् ।
प्रहरीको तीन वर्षको तथ्याङ्कमा प्रत्येक वर्ष आत्महत्याको दर बढिरहेको छ । गएको आर्थिक वर्ष २०७५/०७६ प्रदेश १ मा १ हजार २३४ जनाले आत्महत्या गरेका थिए । त्यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३४४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । यो क्रम हरेक वर्ष बढ्ने क्रममा रहेको छ। केन्द्रीय प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भर ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् ।
त्यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा यो सङ्ख्या बढेर ६ हजार २०९ पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा मुलुक भर ६ हजार ४ सय २९ जनाले आत्महत्या गरेका छन् । त्यसको एक तिहाइ भन्दा बढी आत्महत्या गर्नेमा प्रदेश १ का रहेका छन् । तर बढ्दो आत्महत्या रोकथामका लागि नीति कार्यक्रम प्रदेश सरकारसँग छैनन् । जसले समाजमा अवस्था झन् भयावह बन्दैछ ।


