२६ असार , काठमाडौँ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नुभएको छ ।

प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन प्रदेश प्रहरी प्रमुख जोशीद्वारा उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण लगायत ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक जोशीलाई जानकारी गराउनु भएको थियो ।
भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।







