५ साउन , काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीदेखि केन्द्रीय समितिको बैठक सरकारी निवास बालुवाटारमा डाक्ने क्रम बढेपछि कांग्रेसभित्र चर्को बिरोधको स्वर गुन्जियो ।विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारी निवासमा बैठक बोलाउने, भोजभतेर गरी दुरुपयोग गरेको भनेर कांग्रेसले बिरोध गरेको थियो । तर देउवा प्रधानमन्त्री भएपछि पनि सरकारी निवास दुरुपयोग गरी पार्टीका बैठक र भेला बोलाउन थालेपछि पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बिरोध गरेपछि हालैको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा राखिएको थियो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक सानेपामा राखिए पनि सभापति देउवाले गुटका बैठक बालुवाटारमा राख्दैआएका छन् । साउन ६ र ७ गते हेटौंडामा हुने नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनका उम्मेदवार टुंगो लगाउनका लागि पनि बालुवाटारमै बैठक राखिएको थियो ।
आइतबार बालुवाटारमा बसेको संस्थापन पक्षका उपसभापति पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतसहितको गुटको बैठकमा देउवाले प्रेस युनियनको अध्यक्षमा सरकारी जागिरे पत्रकार अनिता बिन्दुको नाम लिएका थिए । जबकि आइतबारसम्म ८ बर्षदेखि युनियनको सभापति रहेका बद्री सिग्देल नै अध्यक्ष नै दोहोरिने चाहनामा थिए । आफू नभए सरोज अधिकारीलाई अध्यक्ष बनाउने चाहना उनको थियो ।
प्रधानमन्त्री देउवापत्नी आरजु राणाले अनिता बिन्दुलाई अध्यक्ष बनाउने चाहना राखेपछि एकाएक सिग्देल पछि हट्न बाध्य भएका थिए । कांग्रेसको संस्थापन इतर पक्ष प्रेस युनियनको नेतृत्वमा चुनाव नगराई सहमति गराउने पक्षमा रहेको थियो । त्यही भएर संस्थापन इतर पक्षले बिहीबार बिहानसम्म उम्मेदवार नै तोकेको छैन । तर संस्थापन पक्षको बालुवाटारमा बसेको गुटको बैठकले अनितालाई उम्मेदवार बनाएपछि इतर पक्षले संभवतः बिहीबार दिउँसोसम्म शिव लम्सालको नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेको छ ।
पार्टीका नेताहरुसँग छलफल गरी सहमति गर्नका लागि पहल गरिरहेको बेला बालुवाटारबाट अनिताको उम्मेदवारी घोषणापछि संस्थापन इतरपक्ष झस्किएको छ । बालुवाटारले नै सहमतिको वातावरण बिगारेको उनीहरुको आरोप छ । प्रधानमन्त्री पत्नी आरजुको दबाबमा बालुवाटारबाट सरकारी पत्रकार अनितालाई अध्यक्षमा उम्मेदवार बनाइएकोमा संस्थापन इतर पक्ष आक्रोसित छ ।
प्रेस युनियनमा अनितालाई उम्मेदवार बनाएर आरजुले कांग्रेसमा महिलाहरुलाई स्पेस दिन खोजेको सन्देश दिन खोजेकी छन् । काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने डिजाइन पनि आरजुकै रहेको र अब प्रतिनिधिसभाको चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउनका लागि वातावरण तयार गरेको अर्थमा लिइएको छ ।
पार्टीको महाधिवेशनपछि पहिलो पटक कांग्रेस निकट शुभेच्छुक संस्थाको महाधिवेशनबाट नेतृत्व चयन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब ४ महिनापछि हुन लागिरहेको बेला प्रेस युनियनको महाधिवेशन गर्नु जरुरी थिएन, तर आरजुकै चाहनामा महाधिवेशन गरी अनितालाई अध्यक्ष बनाउने र यसैगरी महिलाहरुलाई अगाडि बढाउन खोजेको देखाएर आगामी संसदको चुनावपछि प्रधानमन्त्री बन्ने उनको चाहनाले काम गरेको अर्थमा पनि लिन थालिएको छ ।
प्रथम महिला आरजु राणाको पार्टीमा पकड बढाउँदै जाने नीति अन्तर्गत नै सुरुवात प्रेस युनियनबाट गर्न लागिएको संकेत संस्थापन इतरले बुझिसकेको छ । उनले पार्टीको महाधिवेशनपछि हुन लागेको युनियनको चुनावमा अनितालाई जिताउन आइएनजीओ, ठेकेदार र सरकारी स्रोत साधनको भरपूर दुरुपयोग गरेको संस्थापन इतर पक्षको आरोप छ । बालुवाटारले अनितालाई जिताउन सत्ताको नांगो दुरुपयोग गरेको भन्दै युनियनमा आबद्ध क्रियाशील पत्रकारहरु रुष्ट भएका छन् ।
आइतबारसम्म आफैं अध्यक्ष हुने चाहना राखेका अध्यक्ष सिग्देल आरजुकै सिग्नलपछि पछि हटेका छन् । सरोज र अनिताबीच सहमति नभएपछि आफैं अघि बढ्ने चाहना उनको रहेको थियो । त्यही रणनीति अन्तर्गत सिग्देल र अधिकारीले १० जना पत्रकार पनि कार्यरत नरहेको हिमालय टाइम्समा २० जना पार्षद बनाएको आरोप संस्थापन इतर पक्षले लगाउँदैआएको छ । अन्यत्र पनि धेरै फर्जी पार्षद धेरै बनाइएको भन्दै संस्थापन इतर पक्षका शिब लम्सालहरुले हेटौडामा हिसाबकिताव खोज्दैछन् ।


