१६ साउन , काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने भन्दै कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।
नायब सुब्बा बचाऊ अभियानको पहलमा सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताएका उनीहरूले सङ्घ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने माग राख्दै मन्त्रालय घेराउ गरेका हुन् ।
शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्नेसमेत उनीहरूको माग रहेको छ ।
सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवालाई चक्रीय प्रणालीमा लैजानु पर्ने तथा पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान ऐनमा समावेश गर्नुपर्ने उनीहरूले बताएका छन् ।






