२२ साउन , काठमाडौं । निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । ‘कुमारी आमा’ निहारिका तीन दिनअघि आमरण अनशन सुरु गरेकी उनी आइतबार न्याय माग्दै सर्वोच्च पुगेकी थिइन् ।
यसअघि वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई बच्चासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।
निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन तयार रहेको बताउँदै आएकी छन् । उनी दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् ।
आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको र जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । आरोपीलाई पक्राउ गरेर कारबाही गर्न उनले माग गरेकी छन् ।


