Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीले भने- ७० वर्ष कटिसकेँ, तर अझै युवाको जस्तै ऊर्जा

२९ साउन , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग ‘उपचार गर्ने पैसासमेत नभएको’ बताएका छन् । आइतबार युवासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गासमेत दान गरिसकेको बताउँदै उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न समेत नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ किनभने दान गरिसकेको छु ।’

उनले आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचार गर्न नपुग्ने बताए । युवासँगको छलफलमा अध्यक्ष ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न आग्रह गरे । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने, ‘तपाइँहरुले अरु बुढाका पनि कुरा सुन्नुस् ।’

अध्यक्ष ओलीले युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए । बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि बताउँदै भने, ‘मैले ७० वर्ष कटिसके पनि म मा युवाहरुको जस्तै ऊर्जा छ ।’

अध्यक्ष ओलीले आफ्नो परिवारका व्यक्तिहरु सक्षम भएपनि राजनीतिमा नल्याएको बताए । ‘मैले नेतृत्व गरिरहेको पार्टीमा कमसेकम यस्तो छैन । म नातावाद–कृपावादको आरोप नलागेको मान्छे हुँ’ उनले भने, ‘मेरी श्रीमती दुई विषयमा मास्टर्स हुन् । बैंकमा काम गरेर रिटायर्ड भएकी हुन् । तर, राजनीतिमा लोभ गर्नु हुँदैन । मेरी श्रीमती पनि राजनीतिमा हुँदा मैले नताने पनि अर्काले श्रीमती तान्यो भन्ने ठान्छ ।’

आफ्नो स्वास्थ्यको बारेमा कुरा गर्दै स्वास्थ्य संवेदनशील रहेकाले श्रीमतीको साथ–सहयोग चाहिएको उनले बताए । ‘मेरो स्वास्थ्य यस्तो फ्रेजाइल छ । ‘हेन्डल विथ केयर’ भनेजस्तो गर्नुपर्छ । यसमा मेरो श्रीमतीको साथ सहयोग पूरा आवश्यक छ’ उनले भने, ‘सर्कसमा डोरीमा हिँड्ने खेलाडीजस्तो गरेर हिँड्नुपर्छ ।’

साथै, उनले आफू बिरामी भएको बेलामा पनि सक्रिय हुने गरेको बताए ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा समेत आफूले एउटा गीत रचना गरेको सुनाए । उनले भने, ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ-

छानेर नी होइन, होइन जानीजानी

तर जन्मे नेपालमा कति भाग्यमानी ।’

अध्यक्ष ओलीले आफूले लेखेको उक्त गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment