३० साउन काठमाडौ । बर्दीया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई पुरुष मृत फेला परेका छन्।
मृतकमा सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि ओली छन् ।
बेलुका चार बजेसम्म फेला नपरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरदेखि करिब पाँच सय मिटर टाढा पर्ने राष्ट्रिय निकुञ्जको बफर जोनमा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए।
उनीहरूलाई जंगली जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र स्थानीयको संयुक्त टोलीले उनीहरूलाई मृत फेला पारेको हो।
मृतक चन्दको पेट र ओलीको घाँटीको भागको मासु निकालेको अवस्थामा शव फेला परेका हुन्। उनीहरू दुबैजना करिब दुई सय मिटर आसपास फरक स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


