जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा चितवन प्रहरी कार्य सम्पादनमा बागमती प्रदेशकै अब्बल भएको ठहर सहित सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । 
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी किरण बज्राचार्यका अनुसार गत आवको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय चितवन सर्वोत्कृष्ट भएको हो । काठमाडौं उपत्यका बाहेक विभिन्न दस जिल्लामा गरिएको कार्यसम्पादन मुल्यांकनका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले सर्वोकृष्ठ स्थान हासिल गर्न सफल भएको उनलेे बताइन् । 
त्यस्तै, जिल्ला बाहेक अन्य कार्यालयतर्फ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीलाई सम्मान गरिएको थियो भने सम्झौताको कार्यान्वयनमा सक्रियता देखाउने जिल्ला प्रहरी कार्यालय रामेछापलाई प्रदेश प्रहरी कार्यालयले प्रशंसापत्रबाट सम्मान गरेको थियो । 
बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशीत गरेका हौं । उनलेे भनिन् : प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट फागुनमा सरुवा भई चितवन आएका एसपी नवराज अधिकारीको नेतृत्वमा परिचालित चितवन प्रहरीको सक्रिय भुमिका देखिएको थियो । अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका एसपी नवराज अधिकारी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।
एसपी अधिकारी चितवन जिल्लामा सरुवा भएर आएपछि छोटो समय मै करोडौं मूल्य बराबरको तस्करीका सामान बरामद, फरार प्रतिवादी पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाइ सफल भुमिका निभाउनुको साथै जिल्लाको शान्तिसुरक्षा समेत चुस्तदुरुस्त बनाउन सफल भएका थिए ।


