नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिम २-३ समूहको आज मिति २०७९ भाद्र ०९ गते शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । 
समारोहमा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरूलाई पुरस्कार वितरण गर्नुभई निर्देशनको क्रममा दीक्षित प्रशिक्षार्थीहरूले गरिमामय समारोह समक्ष लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित समेत भएको कुरामा पूर्ण विश्वस्त रहेको साथै कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्र कानूनको शासन स्थापना हुन सक्ने भएकाले कानून कार्यान्वयन गर्ने क्रममा मानव अधिकारको संरक्षण गर्न संवेदनशील हुन यस आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको कुरामा विश्वस्त रहनुभएको कुरा उल्लेख गर्नुभएको थियो ।
सम्बोधनकै क्रममा प्रमुख अतिथीले व्यावसायिक जीवनमा सामना गर्नु पर्ने विषयहरु निकै संवेदनशील एवं जटिल रहेको तर्फ इंगित गर्नुहुँदै आई पर्ने चुनौतीहरुलाई ईमान्दारिता, निष्पक्षता र व्यवसायिक भएर सामना गर्ने कुरामा समेत विश्वस्त रहेको र कार्यक्षेत्रमा उच्च मनोबलकासाथ संगठनले अख्तियार गरेको नीति तथा कानून प्रदत्त अधिकारहरूलाई निर्धक्कसाथ कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको थियो भने आफ्ना सन्ततिलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा समर्पित हुन मार्ग दर्शन तथा प्रेरणा प्रदान गर्नुहुने अभिभावकज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । 
समारोहमा शिक्षालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी निरीक्षक ओम प्रकाश पुनले प्रस्तुत गर्नु भएको थियो । उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
कुल २१२ जना प्रशिक्षार्थीहरू दीक्षित प्रहरी जवान आधारभूत तालिम २-३ समूहमा सर्वप्रथम तथा कवाज तर्फ प्रथम प्रहरी जवान रूद्र श्रेष्ठ, सर्वद्वितीय प्रहरी जवान मदन तामाङ, सर्वतृतीय तथा आन्तरिक तर्फ प्रथम प्रहरी जवान प्रदिप तामाङ, शारीरिक व्यायामतर्फ प्रथम प्रहरी जवान राजिव कंडेल, चाँदमारी तर्फ प्रथम प्रहरी जवान शत्रुधन राम र प्रहरी युक्ति तथा कारबाही तर्फ प्रथम प्रहरी जवान शंखर राई भएका छन् । 
दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेल,विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, जिल्ला सुरक्षा समितिका सदस्यहरू, जनप्रतिनिधिज्यूहरू, भरतपुर अस्पताल तथा चितवन मेडिकल कलेजका चेयर पर्सन, पत्रकारज्यूहरु, सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीज्यूहरू, दीक्षित भई जाने प्रशिक्षार्थीहरूको अभिभावकज्यूहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।


