२३ असोज , काठमाडौ । आस्रन प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ मा सत्तारुढ गठबन्धनको तर्फबाट किसान श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठले आइतबार जितपुर सीमरा उपमहानगरस्थित क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
बारा ४ मा श्रेष्ठसँगै प्रदेशसभा सदस्यमा ४ (क) मा माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र क्षेत्र नं ४ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवारी दिएका छन् ।
२०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ मंसिर ४ गते हुने निर्वाचनमा भने सत्ता गठबन्धनको तर्फबाट बारा–४ बाट उम्मेदवारी दिएका हुन् । प्रदेशसभा सदस्यमा भने ४ (ख) का उम्मेदवार सोनलले यसअघि २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार उमेश कुशहवालाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।


